अविरल वर्षाका कारण खहरेखोलाबाट आएको लेदोले बीपी राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोक, २५ असार – मंगलबार रातिदेखि परेको लगातार वर्षाका कारण बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीबेशी, फेदीखोला र रोशी–७ को चारसय बेशी क्षेत्रमा पहिरोसहितको लेदो खस्दा सडक अवरुद्ध भएको हो।
फेदीखोलामा खसेको लेदो हटाइएको छ भने पिन्थलीबेशी र चारसय बेशीमा सफाइ कार्य जारी रहेको प्रहरीले जनाएको छ। सडक विभाग र स्थानीय रोशी गाउँपालिकाको समन्वयमा अवरोध हटाउने काम भइरहेको छ। सडक अवरुद्ध भएपछि सिन्धुलीतर्फबाट काभ्रेतर्फ आउँदै गरेका सवारीसाधनहरूलाई होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। केही समयमा राजमार्ग पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
Facebook Comments Box

