दाउन्नेको खुर्सानी खोलामा सडक भासिँदा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बर्दघाट, २५ असार – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट–दुम्किबास सडक खण्डको दाउन्ने क्षेत्रमा पर्ने खुर्सानी खोलानजिक सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षापछि भासिएको सडकमा लु १ क ५८२७ नम्बरको ट्रक फसेपछि सो स्थानबाट सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए।

पूर्वतर्फ जाँदै गरेका सवारीसाधनहरू बर्दघाटको टिसिएनचोकमा र पश्चिमतर्फ जाँदै गरेका सवारीहरू दुम्किबास क्षेत्रमा रोकिएका छन्। भासिएको सडक खुलाउन प्रयास जारी रहेको भए पनि निरन्तर वर्षाका कारण काममा ढिलाइ भइरहेको प्रहरीको भनाइ छ।

खुर्सानी खोलाको यो खण्ड विगतमा पनि पटक–पटक सडक भासिने समस्या दोहोरिँदै आएको छ। नारायणगढ–बुटवल सडक विस्तार कार्य चलिरहेको भए पनि दाउन्ने खण्डको १४ किलोमिटर सडक निर्माण ढिलो भएकोले बारम्बार यस्तो समस्या देखिएको स्थानीयहरूको गुनासो छ।

Facebook Comments Box