भियतनामकी उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

काठमाडौँ, १० भदौ

समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी आज मध्यरात स्वदेश प्रस्थान गर्नुभयो। उहाँ उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भदौ ७ गते नेपाल आउनुभएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्च पदस्थ अधिकारीहरूले उहाँलाई बिदाइ गरे। सो अवसरमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण समेत उपराष्ट्रपति सुआनले गर्नुभयो।

भ्रमणका क्रममा उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट, उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता, प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गर्नुभएको थियो।

भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ परेको सन्दर्भमा उक्त भ्रमणलाई विशेष महत्वका साथ लिइएको छ।

Facebook Comments Box