ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा

तनहुँ, २५ असार – तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित चर्चित पर्यटकीय गन्तव्य ऐनापहरामा निर्माणाधीन ‘स्काइ वाक’ अन्तिम चरणमा पुगेको छ। गत जेठ दोस्रो सातादेखि सुरु गरिएको निर्माण कार्य हाल पूर्णता नजिक पुगेको हो।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार स्काइ वाक निर्माणले ऐनापहरालाई पर्यटकीय ‘हब’ बनाउने लक्ष्य लिएको छ। करिब रु १५ लाखको लागतमा निर्माण गरिएको उक्त स्काइ वाकलाई केही दिनभित्रै व्यावसायिक रूपमा सञ्चालनमा ल्याइने तयारी भइरहेको छ।

कुल ५० मिटर अग्लो र ५७ मिटर लामो यो स्काइ वाकमा प्रत्येक पाइला बीचमा एक फिटको खाली ठाउँ राखिएको छ। “हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा हिँड्दा साहसिक अनुभूति हुने व्यवस्था गरिएको छ,” अध्यक्ष चुमानले बताए। उनका अनुसार निर्माणमा सुरक्षा उपाय र गुणस्तरको विशेष ध्यान दिइएकोले डराउनुपर्ने अवस्था छैन।

पछिल्लो समय ऐनापहरा आन्तरिक पर्यटकको मुख्य आकर्षण बन्दै गएको वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार विशेषगरी शनिबार एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको छ। पृथ्वीराजमार्गसँगै रहेको यो ठाउँ सजिलै पुग्न सकिने भएकाले पनि पर्यटकको रोजाइमा परेको हो।

ऐनापहराको पर्यटकीय आकर्षणमा प्राकृतिक ढुङ्गामा कोरिएका आकृतिहरू विशेष रूपमा मन पराइएका छन्। यहाँको झरनामा बनेको गणेशको आकृति, त्यसको छेउमा रहेको आमा र बच्चा तथा परीको आकृति, साथै झरनामा मिसिएको सिउढी खोलाको पानीले यो ठाउँलाई अझै आकर्षक बनाएको छ।

गाउँपालिकाका अनुसार ऐनापहराबाट हालसम्म रु ६० लाखभन्दा बढी आम्दानी भइसकेको छ। यहाँ पर्यटकका लागि उद्यान निर्माण गरिएको छ र थप संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ।

डीपीआरअनुसार बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत पूर्वाधार निर्माण गरिनेछ, जसका लागि रु १० करोडको बजेट आवश्यक पर्ने देखाइएको छ। गाउँपालिकाले यो क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटकको लागि सुरक्षित, रमणीय र साहसिक गन्तव्य बनाउने योजनासहित काम अगाडि बढाएको जनाएको छ।

Facebook Comments Box