गौरीघाट, गुह्येश्वरी क्षेत्रमा बाग्मतीको जलसतह सतर्कता तहभन्दा माथि, सतर्क रहन आग्रह
काठमाडौँ, २५ असार – राजधानीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा बाग्मती नदीको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। विभागले सम्भावित जोखिमका कारण ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका इञ्जिनीयर आशीष भट्टका अनुसार मङ्गलबार राति १२ बजेदेखि निरन्तर भइरहेको वर्षाका कारण नदीको जलस्तर राति २ बजेतिर सतर्कता तह पार गरेको हो। सोही आधारमा गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती र जोरपाटी क्षेत्रका बासिन्दाको मोबाइलमा सुरक्षित रहनका लागि सचेतकारी सन्देश पठाइएको बताइएको छ।
यस्तै, रुद्रमती (धोबीखोला) को कपन क्षेत्र पनि सतर्कता तह नजिक पुगेकाले त्यस क्षेत्रका बासिन्दालाई पनि पूर्वसावधानी अपनाउन विभागले अनुरोध गरेको छ। विभागका अनुसार राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि करिब २५ मिलिमिटरको दरले निरन्तर पानी परिरहेको छ।
यसले जलस्रोतहरूमा आकस्मिक बाढीको सम्भावना बढाएकाले जोखिम क्षेत्रका नागरिकहरूलाई आवागमन सीमित गर्न, सतर्क रहन तथा आवश्यक परेमा सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

