तिब्बततर्फ भारी वर्षा रसुवामा बाढीको सम्भावना: नदीतटवर्ती बासिन्दालाई सचेत रहन आग्रह
रसुवा, ११ असार – चीनको तिब्बती क्षेत्रमा भइरहेको लगातार भारी वर्षाका कारण रसुवास्थित भोटेकोसी नदीसहितका खोलामा पानीको बहाव बढेको भन्दै स्थानीय प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार उत्तरी केरुङ क्षेत्रलगायत चिनियाँ भूभागमा वर्षा तीव्र भएको र त्यहाँका चिनियाँ अधिकारीहरूले यसबारे नेपाली पक्षलाई सजगता अपनाउन आग्रह गरेका हुन्। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिँदै भन्नुभयो,
“तिब्बतबाट बग्ने केरुङ र ल्हेन्दे खोलाको पानी मिसिएर भोटेकोसी नदी बनेको हो। हाल ती खोलाको बहाव बढिरहेको हुँदा नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।”
मौसमविद्को पूर्वानुमान अनुसार अझै भारी वर्षाको सम्भावना
मौसमविद्हरूले पनि हिमाली जिल्ला रसुवा र वरपरका क्षेत्रमा आगामी दिनहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएका छन्। त्यसैले नदी तथा खोलातटमा बस्ने बासिन्दाहरूलाई सम्भावित बाढी, कटान वा अन्य प्राकृतिक जोखिमबाट जोगिन आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन प्रशासनले पुनः आग्रह गरेको छ।

