रसुवा खण्डमा टिपर दुर्घटना हुँदा दुईको मृत्यु

रसुवा, २ वैशाख – पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डमा गए राति भएको टिपर दुर्घटनामा परी दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–१ ग्राङ निवासी ग्राङ प्राविका शिक्षक २७ वर्षीय राजेन्द्र तामाङ र २५ वर्षीय सवारी चालक सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग्राङबाट कालिकास्थानतर्फ गइरहेको वाग्मती प्रदेश ०६–००६ ख १६८८ नंको खाली टिपर गए राति दुर्घटना हुँदा गम्भीर घाइते भएका राजेन्द्र र सागरलाई नेपाल प्रहरीले तत्काल उद्धार गरी रसुवा अस्पताल धुञ्चे पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

टिपरमा सवार कालिका–१ का वडाध्यक्ष ( गोरखापत्रका रसुवाका पूर्व समाचारदाता) मालफुर्पा तामाङको भने खोजतलासपछि आज बिहान मात्र घटनास्थल क्षेत्रको केही तल गम्भीर घाइते अवस्थामा भेटी उपचारार्थ काठमाडौँ पठाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको अनुमान छ । मृतक दुवै एकाघरका दाजुभाइ भएको बताइएको छ । उनीहरूको शव परीक्षणका लागि रसुवा अस्पतालमा राखिएको बताइएको छ ।

Facebook Comments Box