कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय: यातायात नियमावली स्वीकृत

मोरङ, ११ असार – कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली, २०८२’ लाई स्वीकृत गरेको छ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार यो नियमावलीले यातायात क्षेत्रको विकृति र विसङ्गति नियन्त्रण गर्न मद्दत पुर्‍याउनेछ।

विशेषगरी सिटी रिक्साको दर्ता, लाइसेन्स प्रणाली, प्रक्रियागत सुधार लगायतका विषयमा यसले स्पष्टता र पारदर्शिता ल्याउने सरकारको विश्वास छ।

बैठकले केही प्रदेश ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्ने विधेयक र सामाजिक सङ्घसंस्था ऐन, २०७५ लाई संशोधन गर्ने विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ।

साथै, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव पवनकुमार तिमल्सिनालाई प्रदेश लोकसेवा आयोगमा कामकाजका लागि खटाउने निर्णय पनि गरेको छ।

Facebook Comments Box