सेफ सन्तोष साहको स्वाद यात्रा: नेपाली परिकार लिएर विश्व दौडाहामा

काठमाडौं, ११ असार – बिबिसी मास्टर सेफबाट अन्तर्राष्ट्रिय ख्याति कमाएका सेफ सन्तोष साहले नेपाली खानाको स्वाद संसारभर फैलाउने अभियानलाई निरन्तरता दिँदै आउनु भएको छ। आउँदो जुलाईमा उहाँ अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ भने त्यसपछि जर्मनीको भ्रमण तय भएको छ।

सन् २०२१ मा बेलायतस्थित बिबिसीको मास्टर सेफ प्रतियोगिताबाट चर्चामा आएका साहले त्यसयता विभिन्न देशमा नेपाली परिकारको प्रचार गर्दै आउनुभएको छ। यो आगामी अमेरिका भ्रमण उहाँको तेस्रो र जर्मनी भ्रमण चौथो हुनेछ।

लण्डनबाट सुरु भएको ‘पप-अप’ यात्रा

मास्टर सेफमा कोदोको खिरसहितका नेपाली परिकार प्रस्तुत गरेपछि साहप्रति विश्वभरका फूड लभरहरूको चासो बढ्यो। लण्डनमा गरिएको चार महिनाको पहिलो पप–अप कार्यक्रममा सहभागीहरूको चाप यति धेरै थियो कि दुई घण्टामै सबै टिकट ‘सोल्डआउट’ भयो।

प्रत्येक कार्यक्रममा २०–२२ जनासम्म सहभागी हुन्थे भने जम्मा ६०० टिकट केही दिनमै सकिएका थिए। त्यसपछि स्कटल्याण्ड, जर्मनी, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र न्यूजिल्याण्डमा पनि पप–अप कार्यक्रम आयोजना गरियो। अमेरिका भ्रमणको पहिलो चरणमा मात्रै उहाँले १४ स्थानमा कार्यक्रम गर्नुभयो।

सिर्जनशील स्वाद र नेपालीपनको संयोजन

साहले परम्परागत नेपाली परिकारलाई आधुनिक प्रस्तुति र स्वादको संयोजनमा परिमार्जन गर्दै ‘फाइन डाइनिङ’ शैलीमा प्रस्तुत गर्नुहुन्छ। उहाँले बनाउने चर्चित परिकारहरूमा:

  • जुजु धौ: स्मोकी फ्लेवर, हिमालयन मह, गुराँसको फूलको रस र जेरी क्रम्बलसहित बेक्ड शैली

  • भाङको पातको पकौडा: डल्ले खुर्सानी र चाट मसला मिसाएर तयार गरिने

  • काँचो केराको फुलौरा: याक चिज र मासको दालको मिश्रणसहित

  • नेवारी बारा र साँधेको भोगटे: हरेक मेन्युमा अनिवार्य रूपमा समावेश

उहाँले भन्नुभयो,

“नेपाली खानालाई कलात्मक र नयाँ स्वादमा प्रस्तुत गर्दा विदेशीहरू दंग पर्छन्। पुराना स्वादलाई नयाँ रूप दिने प्रयास हो मेरो।”

नेपालमा पनि सक्रिय पप–अप र च्यारिटी

देशबाहिरजत्तिकै सक्रियता साहको नेपालमा पनि देखिन्छ। हालै नेपालकै धनाढ्य व्यवसायी विनोद चौधरीको वैवाहिक वार्षिकोत्सवमा ‘मिथिला थाली’को विशेष पप–अप कार्यक्रम सञ्चालन गरिएको थियो।

त्यस्तै, च्यारिटी पप–अप कार्यक्रमबाट उठेको रकम पोखरामा बोल्न र सुन्न नसक्ने अपाङ्गता भएका युवाहरूलाई हस्पिटालिटी तालिममा खर्च गरिएको थियो। यसबाहेक, उदयपुरको बेलटार अस्पतालको क्यान्टिन निर्माणमा पनि उहाँको सहयोग पुगेको छ।

अझै पनि अगाडि: जापान र क्यानडा लक्षित

अहिले सेफ साह जापान र क्यानडामा आयोजना हुने पप–अप कार्यक्रमको तयारीमा हुनुहुन्छ। हरेक मुलुकमा वहाँ १० देखि १७ कोर्ससम्मको विशेष मेन्यु तयार पार्नुहुन्छ, जसमा नेवारी, मधेसी र हिमाली परिकार प्रमुख रूपमा प्रस्तुत गरिन्छ।

Facebook Comments Box