भोजपुरमा सुकुम्बासीको प्रमाणीकरण प्रक्रिया सुरु
भोजपुर, ७ असार – भोजपुरमा भूमि सम्बन्धी समस्या समाधानका लागि गठन गरिएको भूमि आयोगले सुकुम्बासीहरूको प्रमाणीकरण प्रक्रिया सुरु गरेको छ। यसअघि सङ्कलित तथ्याङ्कको आधारमा आयोगले प्रमाणीकरण कार्य अगाडि बढाएको हो।
षडानन्द नगरपालिकामा निवेदन दिएका ६० जना सुकुम्बासीलाई पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको भूमि आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाईंले जानकारी दिनुभयो। ती सुकुम्बासीहरू वडास्तरीय सहजीकरण समितिमार्फत छनोट गरिएका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी हुन्।
प्रमाणीकरण प्रक्रिया अन्य पालिकाहरूमा पनि तीव्र गतिमा अघि बढाइएको छ। पौवादुङमा, हतुवागढी, साल्पासिलिछो र आमचोक गाउँपालिकामा सात दिने सूचना जारी गरेर वडास्तरमा प्रमाणीकरण प्रक्रिया प्रारम्भ गरिएको छ।अध्यक्ष चौलागाईंका अनुसार पालिकास्तरमा प्रमाणीकरण भइसकेपछि जिल्लास्तरमा अन्तिम प्रमाणीकरण गरिनेछ, त्यसपछि मात्र लालपुर्जा (जग्गाधनी प्रमाण–पत्र) वितरण प्रक्रिया अगाडि बढाइनेछ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई लक्षित गरी तथ्याङ्क सङ्कलन र प्रमाणीकरणको प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। अन्तिम सूचीमा समावेश भएकाहरूलाई कानुनी प्रावधानअनुसार जग्गा उपलब्ध गराइने आयोगको भनाइ छ।

