दुम्कीवास–दाउन्ने सडक खण्ड अस्तव्यस्त, यात्रु अझै केही समय पीडित हुने

नवलपरासी , ७ असार  – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्ड हाल पूर्णरूपमा अस्तव्यस्त बनेको छ। निरन्तरको वर्षासँगै विनयी खोलाको बाढी र सडक हिलाम्य भएपछि नारायणगढ–बुटवल सडक खण्डमा चार दिनदेखि यातायात ठप्प छ। यात्रु, सवारी चालक तथा सर्वसाधारणले कठिन र जोखिमपूर्ण अवस्था भोग्नुपरेको छ।

डाइभर्सनमा फसेको बस, जोखिमपूर्ण उद्धार
बिहीबार राति काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको यात्रुवाहक बस (भे १ ख ४०८५) विनयी खोलाको डाइभर्सनमा फसेपछि २४ जना यात्रु जेसिभीको सहायताले उद्धार गरिएका थिए। उद्धार गरिएकामध्ये बर्दियाका किरण चौधरीले भने, “मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो।” अर्का यात्रु, शिवनारायण थारुले भने खोलामा हाम फालेर पौडिँदै ज्यान जोगाउनु परेको बताउँदै भने, “त्यो क्षण म मर्छु जस्तो लागिरहेको थियो, भाग्यले बाँचेछु।”

सडक बन्द, पैदल यात्रा र रातभर गाडीमै बस्न बाध्य
सडक बन्द भएपछि यात्रुहरू घण्टौँसम्म पैदल हिँड्न बाध्य छन् भने लामो दूरीका सवारी चालकहरू गाडीमै रात बिताइरहेका छन्। जङ्गलबीच खाना, पानीको अभावले कठिनाइ थपिएको छ। मालवाहक गाडीहरू पनि सडकमै अलपत्र परेका छन्।

स्थानीय सहयोगमा यात्रुलाई राहत
यात्रुहरूको समस्यालाई देखेर विनयी त्रिवेणी गाउँपालिका–१ का स्थानीय युवा, व्यवसायी र सामाजिक सङ्घसंस्थाले शुक्रवार दिनभर निःशुल्क खानाको व्यवस्था गरेका छन्। समाजसेवी गोमा बस्यालका अनुसार सो दिन मात्रै करिब १,५०० यात्रुलाई भात, दाल, तरकारी र शुद्ध पानी वितरण गरिएको थियो।

ठेकेदारको लापरबाहीले समस्या चर्कियो
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार वर्षाका कारण निर्माणको क्रममा भत्काइएको सडक हिलाम्य हुनु स्वाभाविक हो, तर निर्माण कम्पनीको लापरबाहीका कारण समस्या अत्यधिक बढेको छ। उहाँले स्थानीय तह, निर्माण कम्पनी र प्रहरी प्रशासनको समन्वयमा वैकल्पिक व्यवस्था गरिने प्रयास भइरहेको बताए। “तर अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ,” पाण्डेले उल्लेख गर्नुभयो।

बारम्बार बग्ने डाइभर्सन, ८ पटकसम्म पुनर्निर्माण
विसं २०७५ देखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल खण्डमा विनयी खोलामार्फत अस्थायी डाइभर्सन प्रयोग हुँदै आएको छ। तर बाढीले डाइभर्सन बारम्बार बगाउने क्रम जारी छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिलेसम्म आठ पटकसम्म डाइभर्सन बगाइसकेको छ।

१४ किमी सडक खण्ड अझै जस्ताको तस्तै
दाउन्ने क्षेत्रको १४ किलोमिटर सडक खण्ड वर्षा लागेसँगै हिलाम्मे र कष्टकर बनेको छ। स्थानीय प्रशासनले पटक–पटक सुधारको माग गरे पनि ठेकेदार कम्पनीले गिट्टी–बालुवा हालेर सामान्य मर्मतसमेत नगरेको यात्रुहरूको गुनासो छ।

Facebook Comments Box