बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा फलफूल खेती गर्ने योजना
बागलुङ, ७ असार – बागलुङको काठेखोला गाउँपालिकाले बाँदरको आतङ्क नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल तथा कन्दमूल खेती गर्ने योजना अघि सारेको छ। गाउँमा बढ्दो बसाइँसराइले गर्दा बाँदरको उपद्रव बढेपछि गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समूहसँग मिलेर गीठा, तरुल, भ्याकुर, कन्दमूल र विभिन्न फलफूल खेती गर्ने तयारी गरेको हो।
आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु थापाले विभिन्न कृषि तथा पर्यटन प्रवर्द्धनसम्बन्धी योजना सार्वजनिक गर्नुभयो। उहाँका अनुसार, तरकारी उत्पादनमा स्थानीयवासीको आकर्षण बढाउन ‘तरकारी मिनिकिट अनुदान कार्यक्रम’ प्रभावकारी रूपमा लागू गरिनेछ।
गाउँपालिकाले स्थानीय उत्पादनको व्यवसायिकरणलाई प्राथमिकतामा राख्दै बाँकोको सिन्की, सिस्नो पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवा आधारित जुस, अचार र मिठाईको ब्राण्डिङ, प्याकेजिङ र बजारीकरण गरिनेछ।त्यस्तै, चिया, अलैँची, ओखर, टिमुर, आलु र सुन्तलाको खेतीलाई पकेट क्षेत्रका रूपमा विकास गर्दै आवश्यक पूर्वाधार निर्माण र कृषि उपज संकलन केन्द्र स्थापना गरिनेछ।
कोदोको लोकल रक्सीलाई ब्राण्डिङ र लेबलिङ गरी कानुनी रूपमा बिक्री वितरणको प्रक्रिया अघि बढाइने जानकारी अध्यक्ष थापाले दिनुभयो। पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा जडीबुटी उत्पादन र प्रशोधन केन्द्र सञ्चालन गरिने योजना पनि सार्वजनिक गरिएको छ।
स्थानीयस्तरमा किसानले उत्पादन गरेका नाङ्लो, डाली र मकैको खोस्टाबाट बन्ने फूलजन्य सामग्रीको बजार विस्तारका लागि ‘काठेखोला कोसेली घर’ सञ्चालन गरिनेछ। स्वास्थ्य क्षेत्रमा, मृगौला, मुटु, उच्च रक्तचाप र मधुमेहजस्ता रोगको निःशुल्क जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

