स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ, १ असार — हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयवासीले अब शुद्ध र सुरक्षित पानी पिउन पाउने भएका छन्। दूषित पानी सेवन गर्न बाध्य गाउँका २६ घरधुरीलाई ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको हो। नगरपालिकाको आर्थिक सहयोग र वेष्ट वाटर कम्पनी लिमिटेडको प्राविधिक सहकार्यमा ‘एक घर, एक फिल्टर’ अभियानअन्तर्गत नि:शुल्क रूपमा फिल्टर वितरण गरिएको वडाध्यक्ष भुपालसिं राईले जानकारी दिनुभयो।

च्यास्मिटारमा धामी खोलाबाट करिब ८०० मिटर टाढाबाट पाइपमार्फत पानी ल्याइए पनि मुहान दूषित भएकाले स्वास्थ्यमा असर पर्ने समस्या देखिएको थियो। त्यसपछि स्थानीयवासीले स्वच्छ पानीको माग गर्दै नगरपालिकामा पहल गरेका थिए। नगरप्रमुख विमला राईका अनुसार खोलाको पानी अत्यन्तै प्रदूषित पाइएकाले प्रत्येक घरमा शुद्ध पानीको पहुँच सुनिश्चित गर्न यो कदम चालिएको हो।

“दूषित पानीका कारण विभिन्न रोग देखिएको थियो। अब कम्तीमा २० वर्षसम्म स्वच्छ पानी पिउन सकिनेछ,” उहाँले बताउनुभयो।  यसै क्रममा च्यास्मिटारस्थित बाल विकास प्राथमिक विद्यालयमा पनि सोही प्रविधिको प्रयोग गरी पानी प्रशोधन गरिएको छ।

Facebook Comments Box