लहानमा घरदैलो स्वास्थ्य परीक्षण शिविर सञ्चालन
सिरहा, २ असार — लहान नगरपालिकाले नगरवासीको स्वास्थ्य जाँचका लागि ‘स्वास्थ्यकर्मी, नगरवासीको घर दैलोमा’ नारासहित घरघरमै पुग्ने नि:शुल्क स्वास्थ्य परीक्षण शिविर सुरु गरेको छ। आइतबार वडा नं. १२ स्थित पडरिया टोलबाट कार्यक्रमको सुरुवात गरिएको हो।
नगरप्रमुख महेश प्रसाद चौधरीका अनुसार समयमै रोग पत्ता लगाएर उपचार गर्न सकियोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। “गाउँघरमा लुकेर रहेका बिरामीलाई पहिचान गरी आवश्यक परेमा स्वास्थ्य संस्थामा रिफर गरिन्छ,” उहाँले बताउनुभयो, “औषधी सेवन गरिरहेका बिरामीलाई आवश्यक औषधि पनि वितरण गरिन्छ।”
लहान नगरपालिकामा हाल १२ वटा स्वास्थ्य चौकी र ४ वटा आधारभूत स्वास्थ्य केन्द्र छन्। तीमा कार्यरत स्वास्थ्यकर्मीलाई एक हप्तासम्म घरदैलो परीक्षणका लागि खटाइएको स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर चौधरीले जानकारी दिनुभयो। गत वर्ष पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा ४ हजारभन्दा बढी नगरवासीले स्वास्थ्य परीक्षण गराएका थिए।

