वीरगञ्ज नाकाबाट पहिलो दुई महिनामा १७ अर्बको वस्तु निर्यात

पर्सा, १० असोज – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट करिब रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ। गत वर्षको पहिलो दुई महिनामा यही नाकाबाट रु छ अर्ब पाँच करोड मूल्य बराबरको वस्तु निर्यात भएको थियो भने चालु वर्षको सोही अवधिमा रु १० अर्ब ९८ करोडभन्दा बढी मूल्यको वस्तु निर्यात भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले निर्यात उत्साहजनक रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, “गत वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा निर्यात १८१ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार अनुपात १ः२० रहेकोमा अहिले १ः६० पुगेको छ।”

चालु वर्षको पहिलो दुई महिनामा रु आठ अर्ब ८४ करोड मूल्य बराबरको ४ करोड २८ लाख २४ हजार ८७१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ। गत वर्षको सोही अवधिमा मात्र तीन लाख मूल्य बराबरको ४८० लिटर भटमासको तेल निर्यात भएको थियो।

त्यस्तै, चालु वर्षको सोही अवधिमा रु एक अर्ब २४ करोड मूल्य बराबरको १ करोड २६ लाख ९५ हजार ७३२ लिटर फलफूलको जुस निर्यात भएको छ। गत वर्षको तुलनामा सो मूल्य र परिमाणमा न्यून भिन्नता देखिएको छ। साथै, चालु वर्षको पहिलो दुई महिनामा रु एक अर्ब १७ करोड मूल्य बराबरको ३ करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिमा नगन्य मात्रामा मात्रै निर्यात भएको थियो।

Facebook Comments Box