मकालु बेस क्याम्प (आधार शिविर) मा एक जनाको मृत्यु

काठमाडौं, १३ जेठ – सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्प (आधार शिविर) मा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए ।

उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए । विष्टले विदेशी टोलीको भरिया काम गर्दै आएका थिए । ‘उनी मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिँडेका थिए’, वडाध्यक्ष शेर्पाले भने ।

विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको उनले बताए । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिनको पैदल दूरीमा पर्दछ । घटनाका बारेमा शनिबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालयमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।

Facebook Comments Box