द्रुतमार्ग निर्माणमा मुख्य चुनौती : ‘सुरू विन्दु निर्धारण र जग्गा प्राप्ति’
काठमाडौँ, ४ भदौ
काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माणमा सुरू विन्दु निर्धारण र खोकना क्षेत्रको जग्गा अधिग्रहण प्रमुख चुनौतीका रूपमा देखिएको छ। रक्षा मन्त्रालयले चौथो त्रैमासिक प्रगति समीक्षामा उक्त निष्कर्ष सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार प्रस्थान विन्दुदेखि ६.५ किमी दूरीसम्म पर्ने प्याकेज नं ११ मा जग्गा अधिग्रहणको समस्या समाधान नभएकाले निर्माण प्रक्रिया रोकिएको छ। यस खण्डमा विस्तृत अध्ययन पूरा भए पनि सवारी आवागमन व्यवस्थापन र जग्गा सम्बन्धी अन्तिम निर्णय अझै बाँकी छ।
गत आर्थिक वर्षमा द्रुतमार्गको भौतिक प्रगति लक्ष्यको ६७ प्रतिशत मात्र पुगेको मन्त्रालयले जनाएको छ। भौगोलिक परिवर्तन, निर्माण व्यवसायीबाट पर्याप्त दक्ष जनशक्ति नखटिनु र आवश्यक निर्णय ढिलो हुनु यसका कारण रहेका छन्।
रक्षामन्त्री मानवीर राईले आयोजना ढिलाइ हुँदा लागत बढ्ने मात्र नभई पुस्ता वञ्चित हुने जोखिम रहेको बताउँदै सबै निकायले साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार हाल आयोजनाले दैनिक करिब २,०८२ जनालाई रोजगारी दिइरहेको छ भने समष्टिगत प्रगति ४२.१३ प्रतिशत पुगेको छ।
करीब रु २ खर्ब ११ अर्ब ९३ करोड लागत अनुमान गरिएको ७०.९७७ किमी लम्बाइको यो आयोजनालाई २०८३ चैत मसान्तभित्र पूरा गर्ने लक्ष्य निर्धारण गरिएको छ।

