इजरायल–हमास युद्धविरामपछि पनि नेपाली विपिन जोशीको अवस्था अज्ञात
काठमाडौं, २४ असोज – इजरायल र हमासबीच युद्धविरामको सहमति भएपछि हमासले मुक्त गराउने भनिएका २० जना युद्धबन्दीको नामावली सार्वजनिक भएको छ, तर त्यस सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश छैन ।इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सोमबारभित्र रिहा गरिने भनिएका सबै २० जना व्यक्ति इजरायली नागरिक हुन् ।
“विपिनको नाम सूचीमा छैन,” उनले भने, “हामी निरन्तर इजरायली अधिकारीहरूसँग सम्पर्कमा छौं र उनको अवस्थाबारे बुझ्ने प्रयास भइरहेको छ, तर हालसम्म ठोस जानकारी प्राप्त भएको छैन।” अमेरिकाको पहलमा विगत दुई वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्ने उद्देश्यले इजरायल र हमासबीच गत बिहीबार युद्धविराम सहमति भएको थियो । त्यसको पहिलो चरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई मुक्त गर्ने सहमति भएको हो ।
कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनेका थिए । सो हमलामा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई हमास लडाकुहरूले साथमा लिएर गएका थिए ।
उनी अन्तिम पटक सन् २०२३ नोभेम्बर १७ मा गाजा क्षेत्रमा रहेको अल शिफा अस्पतालमा देखिएका थिए । त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी छैन । हालै सार्वजनिक गरिएको ३३ सेकेन्ड लामो भिडियो पनि त्यही समयमा खिचिएको पुरानो फुटेज भएको राजदूत पण्डितले स्पष्ट पारेका छन् ।
परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार इजरायल सरकारको तर्फबाट विपिनको जुनसुकै अवस्थाको सूचना आउन सक्ने भएकाले परिवारलाई त्यहीअनुसार तयारीमा रहन भनिएको छ । मन्त्रालयले पनि उनको अवस्था पत्ता लगाउने प्रयास जारी रहेको जनाएको छ ।

