मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्ने अनुमान

काठमाडौँ, २ भदौ

यस वर्ष हालसम्म देशभर ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिसम्ममा ९८.४४ प्रतिशत रोपाइँ भएकोमा यस पटक मनसुन ढिला सक्रिय भएकाले रोपाइँमा कमी आएको कृषि विभागले जनाएको छ ।

विभागका महानिर्देशक प्रकाश सञ्जेलका अनुसार प्रदेशगत हिसाबमा सुदूरपश्चिमले सबैभन्दा बढी ९९.७२ प्रतिशत रोपाइँ गरेको छ भने मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत मात्र रोपाइँ भएको छ ।

त्यसैगरी कर्णालीमा ९९.३४ प्रतिशत, लुम्बिनीमा ९८.०७ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९४.८३ प्रतिशत र कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

हालसम्म करिब १३ लाख हेक्टर क्षेत्रफलमा धान रोपिएको विभागले जनाएको छ । मुलुकभर करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको छ । भदौ दोस्रो सातासम्म केही प्रतिशत रोपाइँ अझै बढ्ने अनुमान गरिएको छ ।

धान उत्पादनका दृष्टिले तराई क्षेत्रलाई प्रमुख मानिन्छ, जसमा कुल उत्पादनको ७० प्रतिशत उत्पादन हुन्छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत मात्र उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो ।

यस वर्ष करिब ६० लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिए पनि वास्तविक उत्पादन केही घट्ने कृषि विज्ञहरूले अनुमान गरेका छन् । त्यसमध्ये करिब ३५ लाख मेट्रिकटन मात्र खानयोग्य चामल हुने अपेक्षा गरिएको छ ।

Facebook Comments Box