दृष्टिबिहीनलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने दुर्गा प्रसाईको घोषणा
बिर्तामोड, २४ असोज – बिएण्डसी मेडिकल कलेज तथा पूर्वान्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले झापा जिल्लामा रहेका सबै दृष्टिबिहीनको निशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका छन ।
नेत्रहीन संघ द्वारा बिर्तामोडमा आयोजित दशैको शुभकामना तथा ५७ औ बिश्व सेतो छडी दिवसको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै ब्यवसायी समेत रहेका प्रसाईले जिल्ला भरी रहेका सबै दृष्टिबिहीनहरूको क़रीब एक लाख बराबरको निशुल्क उपचारको लागि घोषणा गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रसाईले नेत्रहीन संघको बिकाश र उन्नतिको लागि आफु सधै तत्पर रहेको बताउदै आगामी दिनमा संघ संगै मिलेर अघि बढने प्रतिबद्दता ब्यक्त गरे । सो अवसरमा निर्देशक प्रसाईले बिएण्डसीको तर्फ बाट दशै खर्च बापद संघकी अध्यक्ष यसोदा खनाललाई ६९ हजार नगद प्रदान गरेका थिए ।
प्रसाईले बिएण्डसीको तर्फ बाट क्यान्सर जस्तो गम्भीर रोग लागेका झापा जिल्ला भरी रहेका दृष्टिबिहीनलाई उपचारमा ५० प्रतिशत छुट दिने समेत सो अवसरमा घोषणा गरेका छन ।
सो अवसरमा दृष्टिबिहीनका अगुवाहरूले आफ़्नो लागि देउवा,प्रचण्ड,माधव र केपी नै दुर्गा प्रसाई भएको बताएका थिए ।३० वर्ष भन्दा बढी भयो उहाँहरूले हाम्रो कुरा सुन्नु भएन अब हाम्रो कुरा सुन्ने नै तपाई हो भनी प्रसाई प्रति हार्दिक सम्मान प्रकट गरेका थिए ।
संघकी अध्यक्ष यसोदा खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष खेम रेग्मी,संस्थाका सल्लाहकार संयोजक द्रोणचार्य निरौला,होमनाथ राजबंशी,भोजकुमार तामाङ लगायतले बोलेका थिए । २०७३ सालमा झापामा स्थापना भएको सो संघमा हाल सम्म जिल्ला भरी १ सय २० जना सदस्य रहेका छन ।

