बाबुआमा दुवैजना नेपाली भएमा मात्रै सन्तालाई वंशजको नागरिकता दिनुपर्छ : प्रेम सुवाल
काठमाडौं, १२ जेठ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बाबुआमा दुवैजना नेपाली भएमा मात्रै सन्तालाई वंशजको नागरिकता दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बिहीबार सहभागी हुँदै सांसद सुवालले यस्तो बताएका हुन्।
‘आमाबुवा दुवै नेपाली नागरिक भए मात्रै सन्तानलाई वंशजको नागरिकता दिनुपर्छ’, उनले भने, ‘यदि त्यसो हुन नसकेमा नेपालमा बाहिरबाट आउनेले नेपालीलाई अल्पसंख्यक बनाउन सक्छन्।’
उनले नेपालीलाई स्वदेशमा रोजगारी उपलब्ध गराउन तथा पेट्रोलिम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न पनि आग्रह गरे। यस्तै भारतसँग भएका असमान सन्धि–सम्झौता खारेज गर्ने कुरा पनि नीति तथा कार्यक्रममा समावेश गर्न उनले आग्रह गरे।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनको सूचना पेश गरेका सांसद हृदयेश त्रिपाठीले नागरिकता विधेयक सहमतिका आधारमा पारित गर्ने कुरा ल्याएर सरकार पछि हट्न खोजेको आरोप लगाए। उनले नागरिकताको सवालमा संविधानमा उल्लेख भएअनुसार नै अघि बढाउनुपर्नेमा पनि जोड दिएका छन्।
जनमोर्चाकी सांसद दुर्गा पौडेलले नागरिकतासम्बन्धी हकमा आफूले पेश गरेको संशोधन प्रस्ताव नागरिकता वंशज र अङ्गीकृतको आधारमा मात्रै नागरिकता ऐन कठोर बनाएर लैजानुपर्नेमा जोड दिएकी छन्।