ताप्लेजुङमा कक्षा ११ मा पढ्ने एक युवतीको शव भीरमा फेला

ताप्लेजुङमा कक्षा ११ मा पढ्ने एक युवतीको शव भीरमा फेला परेको छ। सदरमुकाम फुङलिङ नगरपालिकामा अवस्थित भानुजन माविमा कक्षा ११ मा पढ्ने १९ वर्षीया पुष्पा तबेबुङ लिम्बुको शव स्थानीय भीरमा फेला परेको प्रहरीले जनाएको छ।

ताप्लेजुङकै फक्ताङलुङ गाउँपालिका–३ लिङखिम घर भई हाल फुङलिङ नगरपालिका–६ बिहीबारे बसेर पढ्दै आएकी लिम्बूको शव फुङलिङ नगरपालिका–७ दोखु सिरानको भीरमा फेला परेको प्रहरीले जनाएको छ। दूध पुर्‍याउन सदरमुकाम जाँदै गरेका स्थानीयले भीरमा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। युवतीको मृत्युको कारण भने खुलेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश यादवका अनुसार युवतीको शव भिरबाट करिब सय मिटर तल खसेको अवस्थामा फेला परेको हो। उनको हत्या या आत्महत्यो के हो खुल्न बाँकी छ।

‘शव भएको ठाउँमा विषको बोतल पनि भेटिएको छ। घटनास्थल माडिएको पनि छ,’ प्रहरी निरीक्षक यादवले भने, ‘युवतीको शरीरभरि चोटपटक छन्, उनको हत्या या आत्महत्या जे पनि हुनसक्छ। हामी अनुसन्धान गरिरहेका छौँ।’

उनी सदरमुकाममा दिदीहरूसँगै बसेर पढ्दै आएकी थिइन्। उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। युवतीले प्रयोग गर्ने मोवाइलको कल डिटेलबाट पनि घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

Facebook Comments Box