नयाँ बसपार्कमा सामूहिक बलात्कारका आरोपित सबै ९ जनानै पक्राउ

काठमाडौं, १४ पुस – काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई रातभर बलात्कार गरिएको घटनाका फरार आरोपित पनि पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर (काठमाडौं) का प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिएको जानकारीअनुसार ९ जना आरोपितमध्ये पक्राउ पर्न बाँकी एक जनालाई बुधबार अपराह्न नियन्त्रणमा लिइएको हो।

आठ जनालाई भने प्रहरीले यसअघि नियन्त्रणमा लिइसकेको छ। ‘आरोपित सबै ९ जना पक्राउ परिसकेका छन्’, प्रवक्ता मैनालीले बुधबार अपराह्न नेपालखबरसँग भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

प्रहरीका अनुसार पीडितको उजुरीका आधारमा युवराज बडुवाल, हिक्मत नेपाली, दीपक नेपाली, शिवहरि बुढा, रतन नेपाली, सुरेश सेजुवाललगायत छन्। आरोपितहरूलाई प्रहरीले सार्वजनिक गरिसकेको छैन।

प्रवक्ता मैनालीका अनुसार सामूहिक बलात्कार सोमबार (पुस १२ गते) साँझदेखि मंगलबार बिहानसम्म भएको हो। काठमाडौं–२६, मित्रनगरस्थित बसपार्कका विभिन्न गेस्ट हाउसमा लगेर बलात्कार गरिएको हो।

प्रहरीका अनुसार ती महिलालाई सुरुमा एक जनाले फकाएर नयाँ बसपार्कस्थित गेस्ट हाउसमा लगेको र त्यसपछि अरुले पनि पालैपालो विभिन्न गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन्। पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box