‘चाडपर्व छोडेर रोजगारीतर्फ भारत’

कञ्चनपुर, २ असोज – हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन अब एक सातामात्र बाँकी छ । यस समयमा धेरै नेपालीहरू घर फर्केर पर्व मनाउने तयारीमा हुन्छन् । तर सुदूरपश्चिमका नाकाहरूमा भने उल्टै भारततर्फ जानेको भीड बढेको छ ।

विगतमा गड्डाचौकी नाकाबाट हजारौँ नेपाली दसैँ मनाउन घर फर्किने क्रम देखिन्थ्यो । तर यसपटक स्वदेश फर्किनेभन्दा काम खोज्दै भारत जानेहरूको सङ्ख्या बढी छ । विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारततर्फ जान थालेका छन् ।

डोटी जोरायल गाउँपालिका–२ का करन थापा मंगलबार गड्डाचौकी नाकामा परिवारसहित भेटिए । उनले भने, “साँझ–बिहान छाक टार्नै गाह्रो छ, पैसा बिना कसरी दसैँ हुन्छ ? पैसा कमाएर तिहारमा फर्किन्छु भन्ने सोच छ, यसपालि घरमै बसेर दसैँ मनाउन पाइएन ।”

यस्तै, डोटीको बाजिलेक गाउँका २५ सदस्यीय परिवार पनि रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश गएका छन् । सोही गाउँकी मीनादेवी थापाले स्वदेशमा रोजगार नपाएपछि श्रीमान्सहित मजदुरीका लागि सिमला जान लागेको बताइन् । “अहिले त्यहाँ स्याउ टिप्ने काम पाइन्छ । त्यही काम गरेर कमाएको पैसाले तिहार मनाउन घर फर्कने योजना छ,” उनले भनिन् ।

लालाबालासहित भारततर्फ लागेका बलबहादुर थापाले पनि बाध्यताले पर्व छोडेर जानु परेको बताए । “पैसा नभई दसैँ सम्भव छैन । गाउँमै काम पाउन सकिँदैन, त्यसैले एक महिना मजदुरी गरेर तिहारमा फर्कने सोच छ,” उनले भने । गरिबी र बेरोजगारीका कारण सुदूरपश्चिमका सयौँ मानिस दैनिक भारततर्फ काम खोज्दै गइरहेका छन् ।

कैलाली बौनियाका विद्यार्थी कृष्ण सेरलाले भने, “बुबाआमा भारतमै काम गर्नुहुन्छ । विद्यालय बिदा भएकाले म पनि उतै जान लागेको हुँ ।” भारत सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै नेपालीका लागि अझै पनि प्रमुख रोजगारी गन्तव्य बनेको छ ।

Facebook Comments Box