तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले आजदेखि सुन–चाँदीका सिक्का बिक्री गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुन तथा चाँदीका सिक्का बिक्री सुरु गर्ने भएको छ। राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री गरिनेछ। आज र भोलि दुई दिनसम्म सुनका असर्फी तथा चाँदीका सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
तिहारमा सुन–चाँदीका सिक्का खरिद गरी लक्ष्मीका रूपमा पूजा गर्दा शुभ हुने धार्मिक विश्वासका कारण राष्ट्र बैंकले हरेक वर्ष विशेष व्यवस्था गरी सिक्का बिक्री गर्दै आएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार यस वर्ष चाँदीका लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप भएका सिक्का बिक्री गरिनेछ। साथै, वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी तयार पारिएका सुनका असर्फी पनि बिक्री गरिनेछ।
एक जना व्यक्तिले दुई दशमलव पाँच ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटासम्म चाँदीका सिक्का खरिद गर्न सक्नेछन्। सुन तथा चाँदीका सिक्काको मूल्य बिक्री हुने दिनको बजार मूल्यका आधारमा निर्धारण गरिनेछ। सिक्का निर्माणमा लागेको खर्चसमेत जोडिने भएकाले बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ।
सिक्का खरिद गर्न चाहने व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था गरिएको छ।

