श्रमदानबाट काठको पुल निर्माण
खोटाङ, २ कात्तिक – बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन्। गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको सडक पुनः सञ्चालनका लागि केपिलासगढी गाउँपालिका–१ फेदी, वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका स्थानीयले दुई दिनको श्रमदानमार्फत करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन्।
वडा नं २ का वडाध्यक्ष मिलनकुमार राईको नेतृत्वमा गरिएको श्रमदानमा गाउँपालिकाका उपप्रमुख गुरुराज राईसहित ६५ जनाको सहभागिता रहेको थियो। स्थानीय तिलक साम्पाङ किरातीका अनुसार पुल निर्माणपछि अब मोटरसाइकलमार्फत सहज आवतजावत गर्न सकिने भएको छ।
“बाढीले ढलान बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो,” उहाँले भन्नुभयो, “पानीको बहाव अझै उच्च छ, तर तत्कालका लागि मोटरसाइकल चलाउन काठको पुल बनाएर यातायात पुनः सञ्चालनमा ल्याएका हौं।”काठको पुल बनेपछि दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा क्षेत्रका बासिन्दाले सदरमुकाम दिक्तेललगायत स्थानसम्म आवतजावत गर्न सक्ने भएका छन्।
दिक्तेल–पाथेका–फेदी सडकखण्डको तापखोलास्थित शनिबारेमा सात वर्षअघि ढलान गरिएको थियो। उक्त ढलान बाढीले बगाएपछि स्थानीयहरूलाई १० किलोमिटर लामो वैकल्पिक मार्ग हुँदै सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो। यसैबीच, सोही स्थानमा मोटरेबल पक्की पुल निर्माण गर्न यस वर्ष कोशी प्रदेश सरकारबाट दुई करोड रुपैयाँ बजेट उपलब्ध भएको वडाध्यक्ष राईले जानकारी दिनुभयो। पुल निर्माण प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत अघि बढाइने बताइएको छ।

