रुसको हवाई आक्रमणमा युक्रेनमा २४ जनाको मृत्यु
काठमाडौं । रुसले दक्षिणी युक्रेनको जापोरिजियामा गरेको हवाई आक्रमणमा २४ जनाको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार सोमबार कोमिसुवाखा बस्तीमा आक्रमण भएको हो। उक्त स्थानमा विद्यालयलाई राहत सामग्री वितरण केन्द्रका रूपमा सञ्चालन गरिएको थियो भने नजिकै आश्रयस्थलसमेत रहेको थियो।
राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत आक्रमणमा दुई जना राहतकर्मी र चार जना प्रहरीसहित २४ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ। यसअघि अक्टोबर २९ मा युक्रेनको तेस्रो ठूलो सहर डिनिप्रोस्थित रेलवे स्टेसनमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको थियो। पछिल्लो समय रुसले युक्रेनका नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेको युक्रेनको भनाइ छ। खुद्रा व्यापार केन्द्र, रसद पूर्वाधार तथा आवासीय भवनहरूमा समेत आक्रमण भइरहेको जनाइएको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार युक्रेनमा गत सेप्टेम्बरमा नागरिकको मृत्यु हुने दर ८५ प्रतिशतले बढेको छ। सन् २०२२ मा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेयता सेप्टेम्बर महिनामा नागरिकको मृत्यु सबैभन्दा उच्च रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार उक्त महिनामा लामो दूरीका क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट मारिएका नागरिकमध्ये आधाभन्दा बढीको मृत्यु भएको थियो।

