भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्यो मुरासु चक्रवात, एक लाख ६० हजार मानिस सुरक्षित स्थानमा सारिए
काठमाडौं । बंगालको खाडीमा विकसित मुरासु चक्रवात भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार सोमबार बिहान ४ बजेसम्म चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गरिसकेको छ। चक्रवात गएराति करिब १ बजे नेल्लोर र नरसापुरको बीचबाट जमिनमा प्रवेश गरेको थियो।
चक्रवातको प्रभावले आन्ध्र प्रदेशका तटीय क्षेत्रमा प्रतिघण्टा १०० देखि ११० किलोमिटरको गतिमा हावा चलिरहेको छ। खराब मौसमका कारण आन्ध्र प्रदेशका तीन विमानस्थलबाट हुने १९ वटा उडान रद्द गरिएका छन्। यस्तै, चेन्नई विमानस्थलका ११ वटा उडान पनि रद्द भएका छन्।
सम्भावित विपद् व्यवस्थापनका लागि पाँच राज्यमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का ३७ टोली परिचालन गरिएको छ। तीमध्ये १३ टोली आन्ध्र प्रदेशमा खटिएका छन्। यस्तै, ओडिसा सरकारले गन्जाम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाबाट एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ।
चक्रवातको प्रभाव मध्य प्रदेश, छत्तीसगढ, केरला, तेलंगाना, कर्नाटक र महाराष्ट्रसम्म पर्ने अनुमान गरिएको छ। यसैबीच, मुरासु चक्रवातको नेपालमा पर्ने प्रभावबारे मौसम पूर्वानुमान महाशाखाले नयाँ विवरण सार्वजनिक गरिसकेको छैन।
महाशाखाले गत आइतबार साँझ जारी गरेको विशेष मौसम बुलेटिनमा हालसम्मको विश्लेषणअनुसार उक्त चक्रवातका कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नरहेको जनाएको थियो। मौसम प्रणालीको निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार थप जानकारी सार्वजनिक गरिने पनि महाशाखाले स्पष्ट पारेको थियो।

