बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजना पुनः सञ्चालन गर्न प्राधिकरणको पहल
काठमाडौँ – भदौ १० गतेको बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजना पुनर्निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अघि बढाएको छ। बाढीले पुरिएका विद्युत्गृह, सुरुङ तथा अन्य संरचनामा थुप्रिएको लेदो, ढुङ्गा र बालुवा हटाएर वास्तविक क्षतिको विवरण सङ्कलन गर्न प्राधिकरणले सरसफाइको काम अघि बढाउन लागेको हो।
बाढीका कारण प्राधिकरणअन्तर्गतका त्रिशूली, देवीघाट र माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् केन्द्र तथा नुवाकोट सौर्य विद्युत् आयोजना क्षतिग्रस्त भएका छन्। त्यस्तै, सहायक कम्पनीअन्तर्गतका चिलिमे र रसुवागढी जलविद्युत् आयोजना पनि प्रभावित भएका छन्।
यी आयोजनामा भएको वास्तविक क्षतिको विवरण अझै यकिन हुन सकेको छैन। त्यसैले संरचनाभित्र थुप्रिएको लेदो हटाउन सम्बन्धित आयोजनाले दसैँअघि नै ठेक्का आह्वान गरेका थिए। प्राप्त प्रस्तावको मूल्याङ्कन भइरहेको र तिहारलगत्तै काम सुरु गर्ने प्राधिकरणको तयारी छ।
प्राधिकरणका उत्पादन विभाग प्रमुख तथा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठका अनुसार सडक पहुँचको अभावका कारण रसुवागढीबाहेक अन्य सबै प्रभावित आयोजनामा सरसफाइको काम अघि बढाउन लागिएको हो। तिहारलगत्तै काम सुरु गरेर अवरोध नआए करिब चार महिनाभित्र सुरुङ र विद्युत्गृहमा थुप्रिएको लेदो तथा अन्य फोहोर हटाइसक्ने लक्ष्य राखिएको छ।
सरसफाइपछि परामर्शदातामार्फत भौतिक संरचना, मेकानिकल तथा विद्युतीय उपकरणमा भएको क्षति र पुनर्निर्माणका लागि आवश्यक लागत अध्ययन गरिने प्राधिकरणले जनाएको छ। यद्यपि, क्षतिग्रस्त आयोजनाको अध्ययन तथा पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत भने सुनिश्चित भइसकेको छैन। त्यसका लागि सरकार, विद्युत् प्राधिकरण, दातृ निकाय तथा अन्य सरोकारवालाले आवश्यक पहल गर्नुपर्ने उपकार्यकारी निर्देशक श्रेष्ठले बताउनुभएको छ।

