ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक पहिचान

काठमाडौं, २० चैत – काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक पहिचान भएको छ । राजश्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको हो ।

गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो । भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

राजश्व अनुसन्धान विभागको अहिलेसम्मको अनुसन्धाबाट उक्त रकम पौडेलले दिएको खुल्न आएको एक अधिकृतले  जानकारी दिए । पौडेललाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी जारी भइसकेको छ ।

चालक लामाको बैंक खाताको विवरण हेर्दा अस्वभाविक कारोबार देखिएको विभागले जनाएको छ । जसको सीडीआर विश्लेषणबाट पौडेलको मोबाइलमा अन्तिम पटक सम्पर्क भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उक्त व्यक्तिलाई पक्राउ गरेर विभागमा जिम्मा लगाउन प्रहरीलाई पत्राचारसमेत भएको छ ।

साथै, उनको मोबाइल नम्बरको सीडीआर विश्लेषण गर्दै अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । सीसीटीभी फुटेज र डिजिटल डिभाइसको विश्लेषण, उनको घर, कारोबार स्थल, गोदाम लगायतका ठाउँमा विभागले खानतलासी पनि गरेको छ ।

सो क्रममा विभिन्न दशी बरामद भएको विभागले जनाएको छ । उक्त ट्रक ग्यारेज, पार्किङस्थल र विभिन्न गोदाममा समेत गएको देखिएको र खानतलासी पनि भएको विभागले जनाएको छ ।

Facebook Comments Box