बाढीपहिरोले विभिन्न पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी सञ्चालन बन्द
काठमाडौं । बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै कान्तिलोकपथमा रातिको समयमा सवारी आवागमनसमेत बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बुढीगण्डकीको बाढीले बगाएपछि दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ।
त्यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खामा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसैबीच, सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

