निरन्तर वर्षाले भोजपुरमा पाकेको धानबालीमा क्षति, किसान चिन्तित

भोजपुर – भोजपुरमा धान भित्र्याउने समयमा निरन्तर वर्षा भएपछि किसान चिन्तित बनेका छन्। धान पाकेर काट्ने तयारीमा रहेका बेला बिहीबारदेखि वर्षा हुन थालेपछि खेतमा पाकेको धान ढल्नुका साथै काटेर राखेको बाली भिज्ने र दाना झर्ने जोखिम बढेको छ।

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा किसान धान काट्ने र थन्क्याउने तयारीमा रहेका बेला मौसम प्रतिकूल बनेपछि बाली भित्र्याउन समस्या भएको हो। टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका किसान टंकप्रसाद घिमिरेले निरन्तर वर्षाका कारण खेतमा पाकेको धान ढल्न थालेको बताउनुभएको छ। अझै वर्षा जारी रहे धानबालीमा थप क्षति पुग्ने उहाँको चिन्ता छ।

यस्तै, षडानन्द नगरपालिका–४ की किसान सङ्गीता राईले वर्षाका कारण धान काट्ने, सुकाउने र घरमा भित्र्याउने काम प्रभावित भएको बताउनुभएको छ। धान भोजपुरका ग्रामीण क्षेत्रका किसानको प्रमुख खाद्य बाली हो। वर्षभरि परिवारलाई खान पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले गरेको मेहनत र लगानी बाली भित्र्याउने समयमा मौसम प्रतिकूल हुँदा खेर जाने चिन्ता किसानमा बढेको छ। अहिले किसान मौसम खुल्ने प्रतीक्षामा छन्। समयमै घाम नलागे धान उत्पादनमा थप क्षति पुग्ने उनीहरूको चिन्ता छ।

Facebook Comments Box