पश्चिमी वायुको प्रभाव : हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली रहनेछ ।
कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
सोमबार राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ । राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

