एनपीएलमा आज कर्णाली–पोखरा र चितवन–काठमाण्डुबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दा दोस्रो खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजको सामना गर्नेछ ।

पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । चार खेल खेलेको कर्णालीले दुई जित र दुई हारसहित चार अंक जोडेको छ । प्लेअफको सम्भावना बलियो बनाउन कर्णालीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

चारवटै खेलमा पराजित पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । पोखरा अंकविहीन छ । बाँकी तीन खेल जिते पनि पोखराले अधिकतम छ अंक मात्र जोड्न सक्ने भएकाले उसको प्लेअफ यात्रा कठिन बनेको छ ।

एनपीएलका अघिल्ला दुई संस्करणमा कर्णाली र पोखराबीच भएका दुई खेलमा दुवै टोलीले एक–एक जित निकालेका छन् । यस्तै, आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । बेलुका ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि शीर्ष चारमा स्थान बलियो बनाउने अवसर हुनेछ ।

१८ खेल सम्पन्न हुँदा लुम्बिनी लायन्स, काठमाण्डु गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज शीर्ष चारमा छन् । प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन् भने शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

चितवनले चार खेलबाट दुई जित र एक हारसहित पाँच अंक जोडेको छ । एक खेलमा वर्षाका कारण नतिजा नआएपछि चितवनले एक अंक बाँडेको थियो ।

Facebook Comments Box