चक्रवात ‘अर्नब’को प्रभाव आज अपराह्नदेखि कमजोर हुँदै जाने

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा भइरहेको वर्षा आज अपराह्नदेखि क्रमशः कम हुँदै जाने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यतया बादल लाग्नेछ । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपात तथा कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा हुनसक्ने पूर्वानुमान छ । यस्तै, आइतबार देशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Facebook Comments Box