नेपालको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
काठमाडौँ । नेपालको सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । कुल ऋणमध्ये वैदेशिक ऋण १५ खर्ब ९८ अर्ब ८० करोड र आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै सरकारले एक खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ ऋण थपेको छ । यस अवधिमा एक खर्ब रुपैयाँ आन्तरिक र २३ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक ऋण परिचालन गरिएको छ । यस्तै, सरकारले असोज मसान्तसम्म करिब ९९ अर्ब रुपैयाँ ऋण भुक्तानी गरेको छ । यसमध्ये आन्तरिक ऋणतर्फ ८२ अर्ब ७४ करोड र वैदेशिक ऋणतर्फ १६ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४५ दशमलव ५९ प्रतिशत पुगेको छ । यसमध्ये वैदेशिक ऋणको हिस्सा २४ दशमलव २२ र आन्तरिक ऋणको हिस्सा २१ दशमलव ३७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा सरकारले छ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ ऋण परिचालन गर्ने र चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ ऋण भुक्तानी गर्ने लक्ष्य राखेको छ ।

