‘अर्नव’ चक्रवातको प्रभावः झापामा बाढी र डुबानको जोखिम, सतर्क रहन प्रशासनको आग्रह

झापा – झापामा ‘अर्नव’ चक्रवातको प्रभावले बाढी र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। प्रशासनका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।

धान भित्र्याउने समयमा वर्षाको जोखिम बढेपछि प्रशासनले किसानलाई तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न अनुरोध गरेको छ। भारी वर्षाले सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै लामो दूरीको यात्रा नगर्न र वर्षाका बेला सवारीसाधन नचलाउन पनि आग्रह गरिएको छ। अकस्मात् बाढी आउनसक्ने खहरे खोलाको आसपास यात्रा नगर्न, खोला किनारमा माछा मार्ने र दाउरा सङ्कलन गर्ने कामबाट टाढा रहन प्रशासनले सचेत गराएको छ।

प्रशासनले भ्रामक सूचनामा विश्वास नगर्न र आधिकारिक निकायबाट जारी मौसम पूर्वानुमानलाई मात्र आधार मान्न आग्रह गरेको छ। यसैबीच, चक्रवातबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग आकस्मिक बैठक गरेको छ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले धनजनको क्षति रोक्न आवश्यक सतर्कता अपनाइएको र स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिनुभयो।

Facebook Comments Box