चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। कोशी र बागमतीका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ।
त्यस्तै, मधेस प्रदेशसहित कोशी र बागमतीका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा र अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, शुक्रबार देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

