सम्भावित चक्रवातको जोखिमलाई ध्यान दिँदै उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ । सम्भावित ‘अर्नव’ चक्रवातका कारण नेपालमा पनि मौसम प्रभावित हुन सक्ने भन्दै ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले पदप्रदर्शक, पदयात्री र पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

टानले सूचना जारी गर्दै कात्तिक १३ र १४ गते तराई, चुरे तथा मध्यपहाडी क्षेत्रमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको भन्दै आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।

टानले कात्तिक १२ गतेदेखि नै जोखिमयुक्त उच्च क्षेत्रतर्फको पदयात्रा रोक्न र सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन भनेको छ। घोराड, लार्के, काड्ला, सारीबुँद, छोला र सूर्यकुण्डलगायतका आधार शिविर तथा तिलिचो जस्ता उच्च क्षेत्रका पर्यटकीय गन्तव्यमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा जान पनि आग्रह गरिएको छ।

त्यस्तै, पर्वतारोहणका लागि आधार शिविरतर्फ जाने टोलीलाई शुक्रबार र शनिबारसम्म यात्रा रोक्न वा सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ। बाढीपहिरोको जोखिम भएका नदी तथा खोलाको आसपास र पहिरो संवेदनशील क्षेत्रमा नबस्न पनि टानले सचेत गराएको छ।

टानका अध्यक्ष सागर पाण्डेले मनास्लु, मनाङ, म्याग्दी र मुस्ताङ क्षेत्रका बाढीपहिरोबाट प्रभावित सडक, पदमार्ग तथा अस्थायी पुल प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ।

टानले मौसमसम्बन्धी जानकारीका लागि १११५ तथा विपद्का बेला सहयोग लिन ०१२३४, १०० वा १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।

Facebook Comments Box