चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशमा प्रवेश, तीव्र हावाहुरी र भीषण वर्षा

काठमाडौँ । भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’ मङ्गलबार रातिदेखि जमिनमा प्रवेश गर्न थालेको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवातको केन्द्रमा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर रहेको छ। हावाको गति बढेर प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको विभागले जनाएको छ।

चक्रवात उत्तर–पश्चिम दिशातर्फ अघि बढिरहेको र जमिनमा प्रवेश गर्ने प्रक्रिया तीन घण्टासम्म जारी रहने अनुमान गरिएको छ। यसको प्रभावले आन्ध्र प्रदेशका तटीय क्षेत्रमा भीषण वर्षा र तीव्र हावाहुरी चलिरहेको छ। मौसम विभागले समुद्रमा डेढदेखि साढे दुई मिटरसम्म अग्ला लहर उठ्न सक्ने चेतावनी दिएको छ। यसले आन्ध्र प्रदेशका तल्लो तटीय क्षेत्र डुबानमा पर्न सक्ने जोखिम रहेको जनाइएको छ। काकिनाडा र पुडुचेरीको यानम आसपास उच्च समुद्री लहर आउने सम्भावना छ।

अक्टोबर २८ को बिहानसम्म अनकापल्ली र विशाखापटनम जिल्लाका धेरै स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। चक्रवातका कारण काकिनाडामा रुख ढल्नुका साथै बिजुलीका पोल भाँचिएका छन्। विशाखापटनमको बिच रोड र सीताम्माधारामा रुख ढलेपछि सडकसमेत अवरुद्ध भएको छ। चक्रवातको प्रभाव पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा पनि परेको छ। त्यहाँ भारी वर्षा र तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित भएको जनाइएको छ।

Facebook Comments Box