लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा

बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती र प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ। जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै दाङ जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको हो।

मंगलबार दायर फिरादपत्रमा सभामुख घर्ती, प्रदेश सभा सचिव पुन मगर, सचिवालयका प्रवक्ता लोकमणि पाण्डे तथा प्रदेश सभा सदस्य सन्तोष पाण्डे र अजयकुमार झालाई विपक्षी बनाइएको छ। काफ्लेले पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना लेटरहेड, छाप र पदाधिकारीको नाम प्रयोग गरी पत्र तयार पारिएको तथा सोही पत्रका आधारमा आफूलाई पदमुक्त गरिएको दाबी गर्नुभएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा पार्टीको निर्देशन उल्लंघन गरेको आरोपमा काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि प्रदेश सभा सचिवालयले भदौ २४ गते उहाँको पद रिक्त भएको सूचना जारी गरेको थियो। तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुग्नुभएकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

काफ्लेले विवादित पत्रको आधिकारिकता छानबिन गर्न, कीर्ते तथा जालसाजीमा संलग्नलाई कानुनी कारबाही गर्न र उक्त लिखत अमान्य घोषित गर्न माग गर्नुभएको छ। यसैबीच, जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिएको भन्दै सन्तोष पाण्डेसहित चार जना प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

पार्टीले यसबारे प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो। तर, पार्टी नेतृत्वसँग सम्पर्क नगरी सभामुख र प्रदेश सभा सचिवालयले निष्कासित सांसदहरूमाथि कारबाही नगरेको तथा पक्षपातपूर्ण व्यवहार गरेको काफ्लेको आरोप छ।

Facebook Comments Box