झापामा असोजमा २२ विपद्का घटना, १० करोडभन्दा बढीको क्षति
झापा। झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटना भएका हुन्। तीमध्ये आगलागीबाट सबैभन्दा बढी क्षति भएको छ।
प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा जिल्लाका विभिन्न स्थानमा भएका १२ वटा आगलागीका घटनाबाट १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ। आगलागीमा परी एक जना घाइते भएका छन्।
यस्तै, जङ्गली जनावरको आक्रमणका नौ वटा घटनाबाट तीन लाख ८९ हजार रुपैयाँ बराबरको क्षति भएको छ। जनावरको आक्रमण तथा जोखिममा परेका चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। यसैगरी, चट्याङको एउटा घटनाबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीले आगलागीबाट बच्न विद्युतीय उपकरण तथा आगोको प्रयोगमा सावधानी अपनाउन र वन तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई जङ्गली जनावरबाट सुरक्षित रहन सतर्कता अपनाउन आग्रह गरेको छ।

