भारतको गुवाहाटीमा होटलभित्र गोली चल्दा पाँच जनाको मृत्यु
काठमाडौँ। भारतको आसाम राज्यस्थित गुवाहाटीको एक होटलमा गोली चल्दा एक महिलासहित पाँच जनाको मृत्यु भएको छ। घटनामा गोली लागेर घाइते भएका एक जनाको उपचार भइरहेको छ। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति करिब ९ बजे गुवाहाटीस्थित जीएस रोडमा रहेको होटल बिलास इनमा गोली चलेको हो। होटलका मालिक र भाडामा होटल सञ्चालन गर्ने व्यक्तिबीच विवाद भएपछि घटना भएको प्रहरीले जनाएको छ।
प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार घटनामा छ जनालाई गोली लागेको थियो। तीमध्ये पाँच जनाको मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ। समाचार एजेन्सी एएनआईका अनुसार घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गोली प्रहारमा प्रयोग भएको इजाजतप्राप्त ३२ बोरको पेस्तोलसमेत बरामद गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

