संघीय सांसद वृजेशकुमार गुप्ता नेकपा एमालेमा प्रवेश
काठमाडौं, १४ चैत – संघीय सांसद वृजेशकुमार गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्ह लिएर स्वतन्त्रबाट विजयी गुप्तालाई सोमबार कपिलवस्तुको कृष्णनगर पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे।
उनीसँगै कपिलवस्तुबाट विजयी लुम्बिनी प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तव पनि एमालेमा प्रवेश गरेका छन्। उनीहरुसहित अन्य सयौँ नेता कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरे।
श्रीवास्तव २०७४ को प्रदेशसभा निर्वाचनमा सूर्य चिह्न लिएर कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट विजयी भएका थिए। नेकपा एमालेले यी दुई सांसदसहित कपिलवस्तु क्षेत्र नम्बर १ र २ बाट ५ हजारभन्दा बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गरेका दाबी गरेको छ।
यस्तै कपिलवस्तुकै कृष्णनगरबाट समाजसेवी डा. रुद्रप्रताप शाह, शाह परिवारकै युवा कुडालप्रताप शाहसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। गुप्ता कपिलवस्तु क्षेत्र नम्बर २ बाट २०७४ सालमा गुप्ता प्रतिनिधि सभामा विजयी भएका थिए।
उनले त्यसबेला नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई ३५८१ मतान्तरले पराजित गरे थिए। गुप्ताले कुल ३५ हजार १२७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत पाएका थिए।
तमलोपाबाट छुट्टिएको हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट उनले एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेका थिए। उनले कपिलवस्तुबाट चौथो पटक सांसद पद जितेका थिए। गुप्ता राष्ट्रिय प्रजातन्त्र पार्टीको पृष्ठभूमिबाट आएका हुन्। यादव २०५६ सालमा राप्रपाबाट निर्वाचित भएका थिए।
उनी मधेस आन्दोलनपछि तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थिए। उनी त्यही पार्टीबाट पहिलो संविधान सभा र दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भए। गुप्ता २०६१ सालमा भौतिक मन्त्री र २०६९ साल कानुनमन्त्री पनि भएका थिए।
गत मंसिरमा सांसद् हृदयेश त्रिपाठीले नेतृत्वमा गठन भएको जनता प्रगतिशील पार्टीमा गुप्त पनि रहने कुरा थियो। त्रिपाठी पनि २०७४ को निर्वाचनमा एमालेको चुनाव चिह्न सूर्य लिएर विजयी भएका थिए। सूर्य चिन्ह लिएर प्रतिनिधिसभामा नवलपरासी क्षेत्र नम्बर १ बाट त्रिपाठी निर्वाचित भएका थिए। कपिलवस्तु क्षेत्र नम्बर २ बाट गुप्ता निर्वाचित भएका थिए।

