बाढीपहिरोले पाइपलाइनमा क्षति पुर्‍याउँदा बेनी बजारमा खानेपानी अभाव

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव भएको छ। गत असोज दोस्रो साता आएको बाढीपहिरोले खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुर्‍याएपछि बजारमा पानीको आपूर्ति घटेको हो। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि अहिले प्रतिसेकेन्ड आठ लिटर मात्रै आपूर्ति भइरहेको छ। संस्थाले बेनी नगरपालिकाका वडा नम्बर २, ७ र ८ का करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण गर्दै आएको छ।

बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिका–८ स्थित डाँडाखर्क र रिठाखर्कका मुहानबाट बेनीमा पानी ल्याउने १४ किलोमिटर लामो पाइपलाइनमा क्षति पुगेको छ। पाइपलाइनको मार्गमा पहिरो जान थालेपछि वैकल्पिक मार्गबाट पानी ल्याउन करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार भइरहेको छ।

संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार अहिले कोप्रे, अम्रेनी र राहुपारेका मुहानबाट पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिएको छ। तर, सुक्खायाम सुरु भएसँगै वैकल्पिक मुहानसमेत सुक्न थालेपछि खानेपानी आपूर्तिमा थप समस्या देखिएको छ।

प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन एक महिनादेखि बन्द छ। पर्याप्त पानी नपाएपछि बेनी बजारका केही बासिन्दाले निजी मुहानबाट पानी ल्याएर उपभोग गर्न थालेका छन्। खानेपानीको अभावले स्थानीयवासीका साथै विद्यार्थी, पेसाकर्मी र व्यवसायीसमेत प्रभावित भएका छन्।

यसअघि विभिन्न सङ्घसंस्थाले ट्याङ्कर र ड्रममा पानी बोकेर बजारमा वितरण गरेका थिए। अहिले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट बेनीमा पानी ल्याउने तयारी भइरहेको संस्थाले जनाएको छ। यस्तै, रिठाखर्कको मुहानबाट पानी आपूर्ति गर्ने र मङ्गलाघाटस्थित म्याग्दी नदी किनारबाट लिफ्ट प्रविधिमार्फत पानी तानेर वितरण गर्ने विकल्पमा पनि काम भइरहेको छ।

संस्थाका अनुसार बेनीको खानेपानी समस्या समाधान गर्न तत्कालीन योजनाका लागि १४ करोड ७० लाख रुपैयाँ र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। पूर्वाधारमन्त्री सुनिल लम्सालले पनि बजेट व्यवस्था गरी ठेक्कामार्फत बेनी खानेपानी योजनाको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको संस्थाले जनाएको छ।

Facebook Comments Box