झापामा धानबाली जोगाउन किसानलाई सकस, हात्तीको जोखिम बढेपछि सुरक्षा सतर्कता
झापा – झापामा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता किसानमा बढेको छ। हात्तीको जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियान र सुरक्षा निगरानी बढाएको छ। चाडपर्वका बेला मानिसको चहलपहल बढ्ने तथा बिहान, बेलुका र रातिको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरीले माइकिङमार्फत स्थानीयलाई सचेत गराइरहेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न मोबाइल र पैदल गस्ती परिचालन गरिएको जानकारी दिनुभयो।हात्ती देखिएमा नजिक जाने, जिस्क्याउने, लखेट्ने वा फोटो तथा भिडियो खिच्ने प्रयास नगर्न प्रहरीले आग्रह गरेको छ। हात्तीलाई घेराबन्दी गर्ने र त्यसको आवतजावतमा अवरोध पुर्याउने गतिविधिले जोखिम बढाउन सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ।
त्यसैगरी, अँध्यारो समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, घरवरपर हात्तीलाई आकर्षित गर्ने खानेकुरा नराख्न र बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न प्रहरीले आग्रह गरेको छ। झापाको मेचीनगरस्थित बाहुण्डाँगी, बुद्धशान्तिको माथिल्लो क्षेत्र, हल्दिबारीको जलथल, अर्जुनधाराको चुरे क्षेत्र तथा दमक र शिवसताक्षीका केही क्षेत्रमा जङ्गली हात्तीको आवतजावत र क्षतिको समस्या देखिँदै आएको छ।

