सुदूरपश्चिममा दशैँमै १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु
सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा दशैँका बेला सवारी दुर्घटना बढेका छन्। घटस्थापनादेखि कात्तिक ९ गतेसम्म प्रदेशभर एक सय ५२ सवारीसाधन दुर्घटनामा परेका छन्। ती दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने दुई सय ४३ जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सबैभन्दा बढी कैलालीमा ८८ दुर्घटना भएका छन्। ती दुर्घटनामा चार जनाको मृत्यु र एक सय ४६ जना घाइते भएका छन्। कञ्चनपुरमा ३५ दुर्घटना हुँदा दुई जनाको मृत्यु र ५० जना घाइते भएका छन्।
त्यस्तै, डडेल्धुरामा १०, डोटीमा आठ, अछाममा पाँच, दार्चुला र बाजुरामा दुई–दुई तथा बझाङ र बैतडीमा एक–एक दुर्घटना भएका छन्। यी जिल्लामा भएका दुर्घटनामा ४७ जना घाइते भएका छन्। गत वर्ष दशैँदेखि छठ पर्वसम्म सुदूरपश्चिममा एक सय २२ सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा २३ जनाको मृत्यु र दुई सय ५३ जना घाइते भएका थिए।
गत वर्षको दशैँदेखि छठसम्मको अवधिको तुलनामा यस वर्ष दशैँमै दुर्घटनाको संख्या बढेको छ। यद्यपि, मृत्यु हुनेको संख्या भने घटेको छ। चाडपर्वका बेला बढ्दो सवारी दुर्घटना नियन्त्रण र न्यूनीकरण गर्नु ट्राफिक प्रहरीका लागि चुनौती बनेको छ।

