तेस्रो संस्करणको नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदै

काठमाडौं। नेपाल प्रिमियर लिग, एनपीएल क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगिता कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म अर्थात् अक्टोबर २६ देखि नोभेम्बर २२ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल आज साँझ सुरु हुनेछ।

मङ्गलबारदेखि भने दैनिक दुई खेल सञ्चालन हुनेछन्। पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। एक खेल मात्रै हुने दिन पनि खेल साँझ ५ बजेपछि सुरु हुने तालिका छ। प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स र काठमाडौँ गोर्खाज गरी आठ टोली सहभागी हुनेछन्।

तेस्रो संस्करणमा निर्णय पुनरावलोकन प्रणाली अर्थात् डीआरएस प्रयोग गरिनेछ। साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट मान्यता प्राप्त भएकाले प्रतियोगिताका खेलले आधिकारिक ट्वान्टी–२० मान्यता पाउनेछन्। विदेशी खेलाडीको सहभागिताले पनि प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

यस संस्करणमा पुरस्कार राशि पनि बढाइएको छ। प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यसअघिका दुई संस्करणका विजेताले एक करोड रुपैयाँ प्राप्त गरेका थिए।

नेपाल क्रिकेट संघले प्रतियोगिताबाट प्रायोजन, टिकट बिक्री र प्रसारण अधिकारमार्फत आम्दानी हुने अपेक्षा गरेको छ। क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार प्रतियोगिताबाट कुल एक अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। प्रायोजनबाट २० करोड तथा टिकट बिक्री र प्रसारणबाट ३० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको छ।

डीआरएस प्रयोगका लागि करिब एक करोड ५० लाखदेखि दुई करोड रुपैयाँसम्म खर्च हुने अनुमान क्यानले गरेको छ। यस प्रणालीअन्तर्गत प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा निर्णय पुनरावलोकन गर्न पाउनेछ। बलको दिशा र प्रक्षेपण पत्ता लगाउने तथा ब्याटमा बल लागेको वा नलागेको जाँच गर्ने प्रविधिसमेत प्रयोग गरिनेछ।

एनपीएलको तेस्रो संस्करणले आईसीसीबाट मान्यता पाएसँगै प्रतियोगितामा खेलाडीले बनाएका रन र लिएका विकेट आधिकारिक ट्वान्टी–२० तथ्याङ्कमा समावेश हुनेछन्। यसले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box