आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बादल, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ।
मङ्गलबार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। बुधबार देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।
यस्तै, बिहीबार देशका अधिकांश क्षेत्रमा बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनीका केही र कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

