बुकेनी र धापुङ्ग जोड्ने झोलुङ्गे पुल निर्माण, दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक – मङ्गला गाउँपालिका–४ को न्युखोलामा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि करिब दुई सय घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। पुल बनेसँगै बुकेनी र धापुङ्ग गाउँबीचको यात्रा समय आधा घटेको छ।

९२.५ मिटर लामो झोलुङ्गे पुल मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा निर्माण गरेको हो। यसअघि खोल्सा र जङ्गल हुँदै घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा अब सो समस्या हटेको उपभोक्ता समितिका अध्यक्ष सविता रोकाले बताउनुभयो।

“पहिले वडा कार्यालय पुग्न एक घण्टा लाग्थ्यो, अहिले ३० मिनेटमै पुग्न सकिन्छ,” अध्यक्ष रोकाले भन्नुभयो, “बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या पनि समाधान भएको छ।” कुल रु ५७ लाख १० हजार ८६० लागतमा निर्माण गरिएको पुलबाट एक सय ९३ घरपरिवार लाभान्वित भएका छन्। उपभोक्ता समितिले निर्माण कार्यमा रु ६४ हजार ९६१ बराबरको श्रमदान गरेको हो।

पुल निर्माणका लागि रु ११ लाख ६६ हजार ४२४ मा स्टिल पार्टस् खरिद गरिएको र रु ३१ लाख ८३ हजार ९१ उपभोक्ता समितिलाई भुक्तानी भएको गाउँपालिकाले जनाएको छ। झोलुङ्गे पुलको सोमबार पूर्वराज्यमन्त्री तथा प्रतिनिधिसभाका निवर्तमान सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो। पुल निर्माण सम्पन्न भएकामा स्थानीयवासीले नाचगान गरेर खुसीयाली मनाएका छन्।

Facebook Comments Box